लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

एक अनपढ शिक्षक, जसले १७ वर्ष विद्यार्थीलाई पढाए

मंगलबार, ४ बैशाख, २०७५ मा प्रकाशित,

मेक्सिको, वैशाख ४ । जोन कोरकोरन सन् १९४०–५० को दशकमा मेक्सिकोमा हुर्किएका हुन् । आमा–बुवाका ६ सन्तानमध्ये उनीमात्र अनपढ थिए तर यो रहस्य परिवारका कसैले पनि थाहा पाएनन् । यतिमात्र होइन, उनले १७ वर्षसम्म शिक्षकका रुपमा कामसमेत गरे । तर कसरी ?

जोन कोरकोरनकै शब्दमा उनको कहानी

बाल्यकालमा मलाई मेरा आमाबुवाले म एक ‘विजेता’ हुँ भन्नु हुन्थ्यो । जीवनको ६ वर्षसम्म म यो कुरामा विश्वास पनि गर्थेँ ।

म अलि ढिलो बोल्न थालेँ र ठूलो आशाका साथ म आफ्ना दिदीहरुजस्तै पढ्नका लागि स्कूल जान थालेँ ।

पहिला सबैकुरा ठिकै थियो किनकि धेरै कुरा गर्नु पर्दैनथ्यो । स्कूल गएको अर्को वर्ष हामीले पढ्न लेख्न सिक्नु पर्ने थियो । तर मेरो लागि पढ्नु काम यस्तो थियो कि मेरो साुमन्ने चिनियाँ भाषाको कुनै अखबार पल्टाएजस्तै हुन्थ्यो किनकि मलाई पढ्न आउँदैनथ्यो ।

६–७ वर्षको एउटा बालकका लागि यस्तो समस्या बुझ्नु सजिलो कुरा थिएन ।

मलाई याद छ, म राति सुत्नु अघि भगवानसँग प्रार्थना गर्दथेँ कि हे भगवान ! बिहान उठ्दा मलाई पढ्न आओस् । कहिले काहीँ त म राति पनि उठेर किताब खोलेर हेर्थेँ, कुनै चमत्कारबाट मलाई पढ्न आउँछ कि भनेर ।

म ‘नालायक विद्यार्थी’ को लाइनमा बस्न थालेँ । उनीहरु पनि मजस्तै पढ्न लेख्न जान्दैनथे । मलाई थाहा छैन, म त्यहाँ कसरी पुगेँ । कसरी बाहिर निस्कने भन्ने पनि मलाई थाहा थिएन । के सोध्ने भन्ने पनि मलाई थाहा थिएन ।

हाम्रा शिक्षकहरु भने यसलाई ‘नालायक विद्यार्थीको लाइन’ भन्दैनथे । तर तर अरु विद्यार्थीहरु यो लाइनमा हुने नालायक नै भएकाले हामीलाई नालायक नैै मान्दथे ।

अभिभावक–शिक्षक बैठकमा मेरा शिक्षकहरुले मेरा आमाबुवालाई भन्ने गर्दथे– यो निकै तेज छ, यसले सिक्छ ।

हरेक वर्ष शिक्षकले यस्तै भन्थे र मलाई माथिल्लो क्लासमा भर्ना गर्दै गए । तर म बुझ्न सकिरहेको थिइनँ ।

पाँच क्लासमा पुगेपछि मैले पढ्नेलेख्ने आशा नै त्यागेँ । म दैनिक बिहानै उठेर तयार हुन्थेँ, कुनै युद्धमा गए झैं स्कूल जान्थेँ । मलाई कक्षाकोठामा बस्न मन लाग्दैनथ्यो ।

सात कक्षामा पुगेपछि म दिनभर प्रिन्सिपलकै कक्षमा बस्ने गर्दथेँ । म कक्षामा झगडा गर्ने, विद्रोह गर्ने, जोकर बन्ने, अरुलाई डिस्टर्ब गर्ने भएपछि कक्षाबाट निकालिएको थिएँ । तर भित्र म यस्तो थिइनँ, म यस्तो बन्न चाहिरहेको थिइनँ । तर राम्रो बन्न पनि सकिरहेको थिइनँ ।

आठ कक्षामा पुग्दानपुग्दै म आफू र आफ्नो परिवारलाई लज्जित गर्दागर्दा थाकिसकेको थिएँ । अब सबै राम्रो गर्छु भनेर मैले फैसला लिएँ ।

म खेलाडी बन्न चाहन्थेँ । मभित्र खेलाडीको प्रतिभा थियो । गणितमा म राम्रै थिएँ । किनकि स्कुल सुरु हुनु अघि नै म पैसा गन्न सक्थेँ ।

म आफ्नो नाम लेख्न सक्थेँ । केही अरु शब्द पनि लेख्थेँ तर वाक्य पुरा गर्न सक्दैनथेँ । म माद्यामिक स्तरमा थिएँ । तर दुई–तीन कक्षाको विद्यार्थीको स्तरमा मात्र पढ्नलेख्न सक्थेँ । मैले कहिल्यै कसैलाई भनिनँ कि मलाई पढ्न आउँदैन ।

परीक्षामा म कसैको उत्तरपुस्तिकामा हेथेँ या अरु कसैलाई आफ्नो उत्तर पुस्तिकामा लेख्न लगाउँथेँ । तर जब म खेलकुदमा छात्रवृत्ति पाएर कलेजमा भर्ना हुन गएँ, मेरो बाटो त्यति सहज थिएन ।

पुराना प्रश्न पत्र पाइन्थ्यो, परीक्षाको चुनौती सामना गर्ने यो पनि एक तरिका थियो । कुनै यस्तो साथीको कक्षामा म जान्थेँ, जसले मलाई सहयोग गरोस् । केही यस्ता प्रोफेसर थिए, जसले प्रत्येक वर्ष एउटै प्रश्नपत्र प्रयोग गर्दथे ।

एक पटक एकजना प्रोफेसले बोर्डमा ४ प्रश्न लेखिदिए । म कक्षामा पछाडि बसेको थिएँ, झ्यालको छेउ ।

मसँग निलो उत्तर पुस्तिका थियो र मैले चारैवटा प्रश्न लेखेँ । मलाई ती प्रश्नको जवाफ थाहा थिएन ।

मैले पहिला नै एक साथीलाई झ्याल बाहिर राखेको थिएँ । ऊ स्कुलको तेज विद्यार्थी थियो । मैले झ्यालबाट उसलाई आफ्नो उत्तर पुस्तिका दिएँ ता कि उसले मेरो लागि उत्तर लेखिदियोस् ।

मैले आफ्नो शर्टमा एउटा अर्को उत्तरपुस्तिका लुकाएको थिएँ । मैले त्यसलाई बाहिर निकाले र लेखिरहेको नाटक गर्न थालेँ ।

म उत्तीर्ण हुनका लागि पागल भइरहेको थिएँ ।

त्यसपछि एकपटक मैले राति प्रोफेसरको कार्यालयमा गएर प्रश्नपत्र चोरी गरेँ । चोरी गरेपछि एकपटक म निकै खुशी भएँ, म कति चलाख छु भनेर । यति कठिन काम गरेँ तर घर आएर म रुन थालेँ ।

मैले किन कसैको मद्दत मागिनँ ? किनकि मलाई कसैले मद्दत गर्न सक्दैनथ्यो भन्ने लाग्थ्यो । कसैले मलाई बढ्न सिकाउन सक्दैनथ्यो ।

मेरा शिक्षकले, मेरा आमाबुवाले मलाई यही कुरा भनेका थिए कि डिग्री हासिल गरेपछि राम्रो जागिर पाइन्छ । मैले पनि यही कुरामा विश्वास गरेँ । मेरो दिमागमा केवल डिग्री कै कागज हासिल गर्ने कुरा थियो ।

डिग्री पनि पाएँ । अध्यापकहरुको कमी थियो । त्यसैले मलाई अध्यापकको जागिरका लागि प्रस्ताव आयो । यो अनौठो पनि थियो, म जुन मुस्किलबाट निस्किएँ, अब फेरि त्यहीँ गइरहेको थिएँ ।

मैले यो जागिर किन गरेँ ? स्कुल र कलेजमा म उम्किएँ, त्यसैले शिक्षकको जागिरमा आफ्नो वास्तविकता लुकाउनु एउटा विकल्प थियो । कसलाई शंका हुन्छ र एउटा शिक्षकलाई पढ्न आउँदैन भनेर !

मैले धेरै कुरा पढाएँ । म खेल सिकाउँथेँ, सोशल साइन्सको विषय पढाउँथेँ । मैले टाइपिङ पनि सिकाएँ । म एक मिनेटमा ६५ शब्द टाइप गर्थेँ तर मलाई नै थाहा हुँदैनथ्यो कि मैले के टाइप गरिरहेको छु । मैले ब्ल्याकबोर्डमा कहिल्यै लेखिनँ । हामी कक्षामै धेरै फिल्म हेर्थ्यौं र चर्चा गर्थ्यौं ।

यसबीच मै मेरो विवाह भयो । मैले विवाह अघि नै आफ्नी पत्नीलाई सत्य कुरा भन्ने सोचेँ । मैले उनलाई आफूलाई पढ्न नआउने बताएँ । तर मलाई किताबमा रुची छैन भन्ने अर्थमा उनले बुझिन् ।

विवाह भयो र हाम्रो छोरी जन्मिइन् ।

एक दिन यो रहस्य मेरो पत्नीसामू खुल्यो, जब म आफ्नी तीन वर्षीय छोरीलाई किताब पढेर कथा सुनाइरहेको थिएँ । म आफैं कथा बनाएर भनिरहेको थिएँ किनकि मलाई किताबको कथा पढ्नै आउँदैनथ्यो ।

जब मेरी पत्नीले सुनिन्, उनले वास्तविकता थाहा पाइन् । तर उनले मलाई केही भनिनन् । उनले मेरो मद्दत नै गरिन् ।

मलाई म नालायक लाग्थ्यो, झुटो लाग्थ्यो । म धोका दिइरहेको थिएँ । म आफ्नो विद्यार्थीलाई सही मार्गमा हिँड्न सिकाइरहेको थिएँ तर त्यही कक्षामा सबैभन्दा झुटो म नै थिएँ ।
मैले सन् १९६१ देखि १९७८ सम्म स्कुलमा पढाएँ । जागिर छाडेको ८ वर्षपछि मेरो जीवनमा परिवर्तन आयो ।

त्यतिबेला म ४७ वर्षको थिएँ । मैले बारबरा बुशलाई टिभीमा देखेँ । उनले वयस्कका लागि शिक्षाका बारेमा बोलिरहेकी थिइन् । मैले कसैलाई पहिलो पटक यसबारे बोलिरहेको सुनेको थिएँ । मलाई लाग्थ्यो ममात्र यस प्रकारको समस्याको शिकार हुँ ।

एक दिन स्टोरमा दुई महिला आफ्ना वयस्क दाजुभाइको पढाइका बारेमा कुरा गरिरहेका थिए, जो लाइब्रेरीमा पढ्न जान्थे । उनीहरु पढ्न सिकिरहेका छन् ।

एक शुक्रबार साँझ म पनि लाइब्रेरी पुगेँ, साक्षरता कार्यक्रमको निर्देशकसँग भेटेँ । मैले उनलाई आफूलाई पढ्न नआउने कुरा बताएँ ।

मेरो जीवनमा उनी दोस्रो मानिस थिए, जसलाई आफ्नो यो रहस्य बताएको थिएँ ।

मैले त्यहाँ ६५ वर्षीय एक प्रशिक्षक पाएँ । उनी शिक्षक थिएनन् तर उनलाई पढ्न राम्रो लाग्थ्यो ।

सुरुमा उनले मलाई आफ्नो मनमा लागेको कुरा लेख्न भनेँ । मैले सबैभन्दा पहिला एक कविता लेखेँ, जो म महसुस गर्दथेँ । कविता लेख्न यसर्थ सहज थियो कि त्यसमा पुरा वाक्य लेख्नु पर्दैनथ्यो ।

मेरो प्रशिक्षकले मलाई छैठौं कक्षाको स्तरसम्म पढ्न सिकाए । तर मलाई साक्षर महसुस गर्न सात वर्ष लाग्यो । जब मैले पढ्न सिकेँ, म खुब रोएँ । सिक्ने यो यात्रामा धेरै हतास भएँ, पीडा भयो, मेरो आत्मामा बनेको ठूलो खाडल मैले भरेको थिएँ ।

४८ वर्षसम्म जस्तो अँध्यारोमा थिएँ, आखिर त्यो ‘भूत’बाट मैले छुट्कारा पाएँ । (बिबिसीबाट)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework