लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नियम मिच्नेलाई ट्राफिकले अब घरमै चिठी पठाउने

बुधबार, २ फागुन, २०७४ मा प्रकाशित,

अच्युत रेग्मी (रासस): काठमाडौं, फागुन २ । तपाइँले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी–साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा पर्नुहुन्छ ।

अच्युत रेग्मी (रासस)
काठमाडौं, फागुन २ । तपाइँले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी–साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा पर्नुहुन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सीसी क्यामराको माध्यमबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी–साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । महाशाखाले माघ २४ गतेदेखि उक्त प्रक्रियालाई तीव्रता दिएको हो ।

ट्राफिक व्यवस्थापनका लागि महाशाखामा राखिएको सीसी क्यामरा र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको सीसी क्यामरामार्फत् ट्राफिक नियम उल्लंघन गर्ने सवारी–साधनलाई निगरानीमा लिएर कारबाही गर्न सुरु गरिएको हो ।

दुई वर्षपहिलेदेखि महाशाखाले सीसी क्यामराको माध्यमबाट सवारी–साधनलाई नियन्त्रणमा लिएर कारबाही गरे पनि अब भने ट्राफिक नियम उल्लंघन गर्ने सवारी–साधनलाई घरमै चिठी पठाउन लागेको हो ।

महाशाखाले नियम मिच्ने सवारी–साधनलाई सीसी क्यामराबाट नम्बरप्लेटको निगरानी गरेर नियम मिच्ने सवारी–साधनको विस्तृत् विवरण हेरेर घरमा नै पत्र काट्न थालेको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनी चालकले जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि महाशाखाले चालकको घरमा नै चिठी पठाएर कारबाही प्रक्रिया अगाडि बढाएको बताउँछन् ।

‘सबै ठाँउमा ट्राफिक पुग्न सक्दैन, जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि दुर्घटना धेरै हुने भएकाले हामीले कारबाहीलाई तीव्रता दिएका हौं’–उनी भन्छन् ।

सीसी क्यामरामार्फत् महाशाखामा एक हप्ताको समयमा ३१ जनालाई कारबाहीका लागि सिफारिस गरिएको छ । जसमध्ये तीनजनालाई फोनमार्फत् महाशाखामा बोलाएर कारबाही गरिएको र बाँकीलाई चिठी काट्ने तयारी भइरहेको सहप्रवक्ता मसासिनीले जानकारी दिए ।

यो आर्थिक वर्षको माघ मसान्तसम्म उपत्यकामा पाँच लाख ३३ हजार १९९ सवारी–साधनले सवारी नियम उलंघन गरेको महाशाखाले जनाएको छ ।

यस अतिरिक्त ट्राफिक नियम उलंघन गर्ने सवारी–साधनलाई प्रमाणसहित जो–कोही व्यक्तिले महाशाखामा उजुरी दिएमा कारबाही गरिने भएको छ ।

आफू चढेको सवारी–साधनले जथाभावीरुपमा हर्न बजाएमा, तीव्र गतिमा सवारी चलाएमा वा लेन अनुशासन पालना नगरेको फोटो, भिडियो महाशाखामा दिएमा महाशाखाले कारबाही गर्ने जनाएको छ ।

सवारी–साधन धेरै र सडक साँघुरो भएका कारण काठमाडौं उपत्यकामा धेरै दुर्घटना हुने गरेको छ ।

काठमाडौं उपत्यकामा एक हजार ५९४ किलोमिटर सडक भएपनि सवारी–साधन गुड्ने व्यस्त सडक ४७२ किलोमिटरमात्र छ । उपत्यकामा हाल एक हजार ८५ जनशक्तिले ३८ ट्राफिक एकाइबाट ट्राफिक व्यवस्थापन गर्दै आएका छन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता वीरेन्द्रबहादुर स्वाँर काठमाडौं उपत्यकामा ११ लाख र देशभर २८ लाख सवारी–साधन सन्चालनमा रहेको बताउँछन् ।

‘साँघुरो सडक र धेरै सवारी–साधनका कारण उपत्यकाको सवारी व्यवस्थापनमा चुनौती थपिँदै गएको छ’–उनी भन्छन् ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल चालकले ट्राफिकको आँखा छलेर ट्राफिक नियम उल्लंघन गरेका घटना बढेपछि महाशाखाले यो अभियान सुरु गरेको बताउँछन् ।

‘एउटा चालकको बदमासीका कारण अरु राम्रा चालकले पनि बदमासी नगरुन् भनेर हामी उक्त कारबाही अभियान सुरु गरेका हौं’–उनी भन्छन् ।

यसअघि, महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि जथाभावी धुवाँ फाल्ने सवारीदेखि जथाभावी हर्न बजाएर हिँड्ने सवारी–साधनलाई कारबाही गर्नुका साथै सडकमा सवारीचालकलाई ट्राफिक शिक्षा प्रदान गरिसकेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework