लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

यसरी ‘नेकपा’मा विलिन भए एमाले–माओवादी

बिहीबार, ३ जेष्ठ, २०७५ मा प्रकाशित,

प्रकाश सिलवाल (रासस): काठमाडौं, जेठ ३ । ‘के एकता होला र ?’ चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमामात्र होइन, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कतिपय नेता–कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ ।

निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले बिहीबार बिहानदेखि आन्तरिक र आपसी बैठक तथा बाँकी प्रक्रिया पूरा गरेर साँझ मुलुकको शक्तिशाली दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को विधिवत् घोषणा गरेका छन् ।

निर्वाचनका लागि तालमेलको घोषणा भएकै स्थान राष्ट्रियसभागृहको हलमात्र होइन, परिसर र प्रदर्शनीमार्गस्थितको सडकसम्म खचिखचाउ भएका कार्यकर्ता, समर्थक र सर्वसाधारणकाबीच नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको ६ बुँदे एकता घोषणासँगै समृद्धि र स्थिरतको नयाँ युग आरम्भ भएको उद्घोषसहित एमाले र माओवादी केन्द्र एकापसमा विलय भएका हुन् ।

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको राजनीति र सशस्त्र युद्धको मोर्चाको पृष्ठभूमि बोकेका दुई ठूला कम्युनिष्ट पार्टीहरु समाजवादउन्मुख जनताको जनवादको कार्यदिशासहितको एकतामा पुग्नु नै उल्लेखनीय घटना सावित भएको छ ।

मदननगर बल्खुस्थित तत्कालीन एमालेको पुरानो कार्यालयमा जननेता मदन भण्डारी र जीवराज आश्रितको २५औं स्मृति दिवसको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठकमा सम्मिलित अध्यक्षद्वय ओली र दाहालसहितका नेता साँझसम्म एकता प्रक्रिया र त्यसपछिका उत्सवहरुमा व्यस्त रहे ।

संयोजन समितिको बैठकपछि एमालेको बालुवाटार र माओवादी केन्द्रको दाहाल निवास खुमलटारमा बसेका अलग–अलग केन्द्रीय बैठकले पार्टी एकताको सहमतिलाई अनुमोदन गरी अन्तरिम विधान र राजनीतिक दस्तावेज पारित गरेका थिए ।

त्यसअघि, शीर्ष नेताहरुले बालुवाटारमा बलियो मानिने रुखका विरुवा रोपेर एकताको नयाँ सन्देश दिइसकेका थिए ।

एमालेको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै माओवादीको सचिवालय सदस्य दुवै दलको संयुक्त बैठकका लागि बालुवाटार गए ।

औपचारिक बैठक सुरु नहुँदै दुवैतर्फका नेताहरु एकापसमा बधाइ साटासाट र खुसियाली बाँड्न व्यस्त हुन थालेका थिए । उनीहरुले आपसमा हात मिलाउने, अंकमाल गर्ने र तस्वीर खिचाउने काम गरिरहँदा एकताको घोषणा भइसकेकोजस्तो देखिन्थ्यो ।

संयुक्त बैठकमा नेकपाको केन्द्रीय कमिटी सदस्यकारुपमा शपथग्रहण गरेपछि भने पार्टीगतरुपमा घुलन भइसकेको थियो ।

तीव्ररुपमा विकसित भएको घटनाक्रमसँगै निर्वाचन आयोगमा नेकपा दल दर्तापछि राष्ट्रियसभागृहमा घोषणासभा भयो, जहाँ कार्यक्रमका लागि तोकिएको समयभन्दा धेरैअगाडि सहभागी र सन्चारकर्मीको भीड लागिसकेको थियो ।

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहितका नेता, रक्षा र गृहमन्त्री तथा अन्य मन्त्रीहरुसहितका नेताको आगमन र ऐतिहासिक कार्यक्रम भएकाले सुरक्षा व्यवस्था गर्न सुरक्षा निकाय परिचालित थियो ।

अध्यक्ष ओलीले यो एकता केबल ठूलो दल वा बहुमतको दम्भका लागि नभएको बताउँदै आफूहरु पानीमा अक्सिजन र हाइड्रोजनमा घोलिएरझैं हेर्दा–हेर्दा एमाले र माओवादी केन्द्रको विघटनसँगै नयाँ पार्टीमा रुपान्तरित भएको बताए ।

अर्का अध्यक्ष दाहालले आजको एकता आफूहरुको बलिदानको उपज भएको र यस घटनालाई ऐतिहासिक फड्कोकारुपमा लिनुपर्ने बताइरहँदा सहभागीको तालीको गडगडाहटले सभागृह गुन्जिएको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टीको एकता, सहकार्य र संघर्षको लामो इतिहासतर्फ संकेत गर्दै ‘यो साना दुःखले आज्र्याको एकता होइन’ भन्दा दुवै दलको ऐतिहासिक विकासक्रम र शृखंलाको स्मरण गराएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework