लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

लमजुङमा सिउरुङ महोत्सव हुने

बुधबार, २ जेष्ठ, २०७५ मा प्रकाशित,

नवीनराज कुइँकेल (इमेज): लमजुङ, जेठ २ । स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न लमजुङको ग्रामीण पर्यटकीय गाउँ सिउरुङमा ११औं सिउरुङ महोत्सव आयोजना गरिने भएको छ ।

स्थानीय कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनहरुको प्रबद्र्धनका लागि यही जेठ ११ देखि १३ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

‘घाँटु, रोधी, हाम्रो संस्कृति, सिउरुङ महोत्सवमा जाऔं, दीगो आर्थिक विकासका लागि पर्यटन क्षेत्रमा सहभागी होऔं’ भन्ने नाराका साथ आयोजना गरिने महोत्सवमा स्थानीय कला, संस्कृति झल्कने झाँकीहरुका साथै हस्तकलाका सामग्रीहरुको प्रदर्शन गरिनेछ ।

महोत्सवमा आर्गानिक खानाका परिकार, कृषि, जडीबुटी, चोयाबाट निर्मित भकारी, डोको, स्याखू, चर्खा, ऊन र धागोबाट निर्मित झोला, पछ्यौरालगायतका सामग्रीहरुको प्रदर्शन गरिने महोत्सव मूल आयोजक समिति तथा सिउरुङ ग्रामीण पर्यटन विकास उपसमितिका अध्यक्ष नन्द घलेले बताए ।

१८५४ मिटरको उचाइमा
समुद्री सतहदेखि करिब १ हजार ८५४ मिटरको उचाइमा रहेको पर्यटकीय गाउँ सिउरुङ पुग्न सदरमुकाम बेसीसहरबाट पैदलै जाँदा एकदिन लाग्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण सिउरुङ गाउँमा गुरुङ जातिको घना बस्ती छ ।

यहाँ १७ घरमा होमस्टे (घरबास)को प्रबन्ध छ । विभिन्न हिमशृंखलाको दृश्यावलोकन, प्राकृतिक सुन्दरता, संस्कृति, स्थानीय बासिन्दाको हार्दिकता, आत्मीयता र पाहुना सत्कार सिउरुङ गाउँको विशेषता हो ।

सडक निर्माणपछि अन्नपूर्ण पदमार्गको वैकल्पिक मार्गमा पर्ने सिउरुङ गाउँमा वार्षिक हजार बढी विदेशी पर्यटक पुग्ने गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework