लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

कांग्रेसले टुंगो लगायो समानुपातिक सूची, सुजाता कोइरालादेखि विनोद चौधरीसम्म (नामावली)

सोमबार, २९ माघ, २०७४ मा प्रकाशित,

भीष्मराज ओझा (रासस): काठमाडौं, माघ २९ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाइ निर्वाचन आयोगमा बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक स्थानको नामावली टुंगो लगाएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

समानुपातिक सूचीमा खस–आर्य (पुरुष)तर्फ बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहन पाण्डे चयन भएका छन् ।

त्यस्तै, खस–आर्य (महिला)तर्फ सुजाता कोइराला, पुष्पा भुसाल, डा. डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा रहेका छन् ।

आदिवासी–जनजाति (पुरुष)तर्फ बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी चयन भएको सचिव रिजालले बताए ।

आदिवासी–जनजाति (महिला)तर्फ ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ र मीना सुब्बा छन् ।

मधेसी (पुरुष)मा विनोद चौधरी, स्मृतिनारायण चौधरी र नगेन्द्रकुमार राय तथा मधेसी (महिला)तर्फ सीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा चयन भएका छन् ।

त्यस्तै, दलित (पुरुष)तर्फ मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र प्रकाश रसाइली चयन भएका छन् भने दलित (महिला)तर्फ सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली छन् ।

थारू (पुरुष)तर्फ पद्मनारायण चौधरी तथा थारु (महिला)तर्फ पार्वता डिसी चौधरी र नमिताकुमारी चौधरी छन् ।

त्यस्तै, मुस्लिम (पुरुष)मा अतहर कमाल मुसलमान र मुस्लिम (महिला)तर्फ सर्वतआरा खानम चयन भएको उनले जानकारी दिए ।

गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कुल २३ स्थानमा विजयी कांग्रेसबाट कुनैपनि महिला निर्वाचित हुन सकेका थिएनन् ।

त्यस्तै, माघ २४ गते सम्पन्न संघीय सदनको माथिल्लो सदन राष्ट्रियसभा सदस्य निर्वाचनमा कुल १३ स्थानमा विजयी भएको कांग्रेसका ६ महिला विजयी भएका थिए ।

कानुनी प्रावधानअनुसार दुवै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिला सहभागिता सुनिश्चत गराउनुपर्ने प्रावधान छ । त्यसैले कांग्रेसले प्राप्त गरेको प्रतिनिधिसभाको समानुपातिक स्थानमध्ये २० महिलालाई पठाउने निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ ।

पार्टीले सोमबारै सो नामावली आयोगमा बुझाएको छ । आयोगले शुक्रबार समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे औपचारिकरुपमा जानकारी दिँदै यसअघि बन्दसूचीमा पेस गरिएको नामलाई समावेशिताको आधार मिलाएर सोमबारसम्म पठाउन दलहरुलाई पत्राचार गरेको थियो ।

आयोगकाअनुसार समानुपातिकतर्फ नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ६/६ स्थान प्राप्त गरेका छन् ।

नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभा (तीनजना राष्ट्रपतिबाट मनोनीतसमेत) गठन हुने प्रावधान छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework