लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘गोरे’सहित तीनजनालाई काठमाडौं ल्याइयो, गोरेका बुवा–आमा के भन्छन् ? (भिडियोसहित)

सोमबार, २८ जेष्ठ, २०७५ मा प्रकाशित,

गृष्मा राजभण्डारी, उत्तम मानन्धर (इमेज): काठमाडौं, जेठ २८ । साढे ३३ किलो सुन तस्करीकान्डका ‘मुख्य’ योजनाकार चूडामणि उप्रेती ‘गोरे’, होटल व्यवसायी भुजुङ गुरुङ र गुरुङको साला नाता पर्ने छिरिङ वाङदेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धान गर्न भन्दै मोरङ कारागारबाट काठमाडौं झिकाएको छ ।

अकुत सम्पत्ति आर्जन गरेको आशंकामा छानबिनका लागि विभागले सोमबार उनीहरुलाई राजधानी ल्याइ थप अनुसन्धान थालेको हो ।

साढे ३३ किलो सुनकान्ड र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयले बनाएको विशेष अनुसन्धान टोली, प्रहरी र अदालतसमेतको अनुसन्धान र बयान सकाएका तीनैजनालाई सम्पत्ति शुद्धीकरणमा छानबिन गर्न काठमाडौं ल्याइएको हो ।

काठमाडौं ल्याएलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उनीहरुलाई उपस्थित गराइसकिएको छ भने विभागले साढे ३३ किलो सुनकान्डका अरु आरोपी पनि तानिनसक्ने जनाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका विभागका निर्देशक विनोद लामिछानेले आरोपीहरुले अकुत सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएमा त्यस्तो सम्पत्ति जफत हुने पनि बताए ।

सनम शाक्यको हत्या प्रकरण र साढे ३३ किलो सुनकान्डका ‘आरोपीहरुको सम्पत्तिमाथि छानबिन गरी पाऊँ’ भन्ने जाहेरीका आधारमा उनीहरुमाथि अनुसन्धान थालिएको उनले बताए ।

आवश्यक परेका समयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपलब्ध गराउने गरी हाल उनीहरुलाई केन्द्रीय कारागार पठाइएको छ ।

गोरेका बुवा–आमा यसो भन्छन्
यता, छोरालाई काठमाडौं ल्याएको खबर पाएपछि गोरेका बुवा नेत्रप्रसाद उप्रेती र आमा बिना उप्रेती केन्द्रीय कारागार पुगेका थिए ।

छोरासँगको भेटपछि १९ वर्षसम्म प्रहरी सेवामा रहेका गोरेका बुवा नेत्रप्रसादले छोरा कुलतमा लागेको हो कि भन्ने शंका लागी पटक–पटक सोधपुछ गरेपनि त्यस्तो कर्तुतबारे जानकारी नभएको प्रतिक्रिया दिए ।

उनले गोरे लामो समयदेखि सम्पर्कमा नआएको बताउँदै छोराले कुकर्म गरी कमाएको सम्पत्ति छ भने राज्यले खोसेर लगोस् र गल्ती गरेको भए सजाय भोगोस् भन्ने प्रतिक्रिया दिए ।

आमा बिनाले भने छोरो गत असोजदेखि सम्पर्कविहीन भएको र उसले गर्ने कामकाबारेमा आफूहरुलाई केही जानकारी पनि नभएको भन्दै गल्ती गरेको भए सजाय भोग्नुपर्ने बताइन् ।

गोरेका दुई सन्तानमध्ये ६ महिनाकी छोरीलाई गोरेकी श्रीमतीले लगी बेपत्ता भएको र ६ वर्षका छोरा भने आफूहरुसँगै रहेको पनि उनीहरुले जानकारी दिए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework