लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

वाम एकता र राजनीतिक संक्रमणकाल अन्त्यबीचको साइनो

मंगलबार, २३ माघ, २०७४ मा प्रकाशित,

हरिविनोद अधिकारी/ भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपश्चात् वाम गठबन्धनका बीचमा नजानिँदो तरिकाले अविश्वासको बादल मडारिन थालेको आभास पाइएको छ । त्यसैले नेपालमा राजनीतिक संक्रमणकाल अन्त्य हुने सम्भावना निकट भविष्यमा पनि देखिँदैन । यसलाई नकारात्मक सोचको रुपमा लिन त सकिन्छ, वास्तवमा यो सत्य हो । नेपालको तरल राजनीतिक अवस्थाको अन्त्य पहिले सोचिएको थियो—संविधान सभाको निर्वाचन भएपछि अन्त्य हुन्छ । तर भएन ।

त्यसपछि संविधान सभाले संविधान निर्माण गरेपछि हुन्छ भन्ने आशा गरियो, त्यो पनि भएन । किनभने पहिलो संविधान सभाले संविधान नै दिन सकेन । संविधान बमोजिमका तीन तहको निर्वाचनले स्थिरता देला कि भन्ने आशा पनि यसबीचको उत्ताउलो राजनीतिक घटना परिघटनाले अलि पर धकेलेको छ ।

स्थानीय सरकारहरु अझै सक्रिय हुन सकेनन् । प्रदेश सभाले दिने राजनीतिका स्थिरता पनि प्रदेश राजधानीको कृत्रिम किचलोले अरु उग्ररुप लिने देखिन्छ । कर्तव्यभन्दा अधिकार र सुविधाप्रति संवेदनशील जनप्रतिनिधिहरुबाट कस्तो आशा र अपेक्षा राख्ने हो भनेर नागरिक समाज छक्क पर्न थालेको छ । प्रदेश सभाका पहिला दिनका केही व्यवहारले र संकेतले क्षेत्रीयतालाई मलजल गर्न सक्ने सम्भावना बढेको छ र मुलुकमा धर्म सापेक्षता अनि पहिचानको नयाँ विवाद उठ्ने सम्भावना अधिकाधिक अनुभूत गर्न सकिन्छ ।
लागेको थियो, संविधान सभाको निर्वाचनपश्चात मुलुकले स्थिर राजनीतिक बाटो पहिल्याउने छ जसमा राजतन्त्रको विदाइ अनिवार्यरुपमा हुँदै जानेछ । राजतन्त्र त गयो तर मुलुकमा संविधानसमेत बन्न नसक्ने गरी संक्रमणकालको उदय भयो । पहिलो संविधान सभाले संविधान बनाउन नसक्नुमा प्रजातान्त्रिक संस्कारको कमी भएको पनि भनिन्छ र कुनै शक्तिकेन्द्रबाट वा कतैबाट संविधान नबनेर मुलुक एउटा तदर्थवादमा चलिरहोस् भन्ने चाहना राखेको पनि भनिन्छ ।

जसले जसलाई जति दोष दिए पनि, जसले जसलाई जसरी आरोपित गरे पनि पहिलो संविधान सभाको असफलतामा जसजसले आफूलाई चोखो माने पनि एउटा कुरा त सत्य हो, चार–चारओटा वामपन्थी प्रधानमन्त्रीहरु हुँदा पनि संविधानको एउटा धारा, एउटा उपधारा पनि कोरिएन । भन्नचाहिँ भनिन्थ्यो, संविधानका ८० प्रतिशत कार्यहरु सम्पन्न भइसकेका छन् । तर पनि संविधानको कुनै आकारको रेखाङ्कन समेत नभई त्यो संविधान सभा आफैँ विघटन भएकै थियो । तर, फेरि संविधानको नयाँ निर्वाचन गर्न बाध्य भयो नेपाल । त्यो पनि कसरी सम्पन्न भयो भने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई एउटै टोकरीमा राखेर सर्वाेच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख, न्यायालय प्रमुख तथा व्यवस्थापिका प्रमुखको असीमित अधिकार दिएर ।

नयाँ संविधान सभाले संविधान यसकारणले दियो कि एकजना साधुवत् व्यक्ति सरकार प्रमुख थिए—सुशील कोइराला । उनले कुनै पनि हालतमा कसैसँग नझुक्ने अडान लिएपछि नयाँ संविधान घोषणा भयो, जसको बाछिटा अहिले पनि ओसिलो छँदैछ राजनीतिमा । संविधान जनतालाई दिएपछि संक्रमणकालको अन्त्य हुने अपेक्षा गरियो तर आजसम्म संक्रमणकालको अन्त्य भएको छैन । यहाँ कसैको नाम लिएर गाली वा प्रशंसाको कुनै आवश्यकता छैन तर किन कोही पनि अबका दिनमा समेत संक्रमणकालको अन्त्य गर्नका लागि प्रयासरत छैनन् ?

यदि संघीयता र गणतन्त्रका लागि उत्तरदायी दलहरु आपसमा बसेर आगामी दिनहरुका चुनौतीहरुका बारेमा साझा धारणा बनाउँदैनन् भने संक्रमणकालको अन्त्य अहिले सोचेजस्तो सहज देखिँदैन ।

राजाले राजगद्दी छोडेर जाँदैमा, संघीयता संविधानमा लेखिँदैमा र गणतन्त्र दिवस मनाउँदैमा मुलुकले समृद्धिका साथसाथै स्थिर राजनीतिक माहौल बन्ला भन्ने नसोचे हुन्छ । जुन कारणले पहिलो संविधान सभा असफल भयो र अहिले पनि संविधान आउँदैमा राजनीतिक अवस्था निर्मल हुन सकेको छैन, त्यो कायम छ । अझ अहिलेको राजनीतिक ध्रुवीकरणले झन मौलाएको भान हुन्छ राजनीतिक विश्लेषणमा ।

तत्काललाई अहिलेको राजनीतिका वातावरणमा एउटै कुरामा वाम गठबन्धन सफल भएको छ— नेपाली कांग्रेसलाई प्रदेश र केन्द्रको सरकार बनाउनबाट रोक्ने । यसमा ज–जसको जे–जे प्रयास भए पनि नेपाली कांग्रेसले यी पाँच वर्ष केन्द्रमा र प्रदेशहरुमा विपक्षीको रुपमा रहनु पर्नेछ । तर संवैधानिकरुपमा कुनै पनि दलले बहुमत ल्याएको छैन केन्द्रमा र पाँच प्रदेशमा । हो यहीँनेरबाट आगामी दिनमा अस्थिरता सुरु हुन्छ ।

नेपालको वाम राजनीतिको टुटफुट र संयोजनको नयाँ आयाम यसपटक देख्न पाइएको छ, जुन कसरी जुट्ला भन्दा पनि कसरी एक होला भन्ने चिन्ता देखिन थालेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको रहस्यमय, आकस्मिक र अनपेक्षित नेपाल भ्रमणले वाम गठबन्धनका बीचमा एउटा नयाँ संशय पैदा गराएको छ । वास्तवमा यो एकता मनमोहन अधिकारी, साहना प्रधानहरुका कम्युनिस्ट पार्टीहरुसँगको नेकपा मालेको एकाकारजस्तो थिएन, होइन र हुन पनि सक्दैन भन्ने कुरा असोज १७ पछिका विभिन्न राजनीतिक उतार चढाबले देखाएका छन् । तर यसपटक जसले जति कसरत गरेर यो एकताको नयाँ प्रायोजन मन्चन गर्न सके, ती सबै अहिले आएर नयाँ समस्यामा जाकिएका छन् । न यो एकता निल्न सक्छन्, न यो एकता अभियानलाई ओकल्न सक्छन् । एकता र गठबन्धनको ओझिलो र सामयिक सापेक्ष नाराले एमाले र माओवादी दुवैलाई आफ्नो हैसियतभन्दा बढी मत प्राप्त भएकै हो । एकले अर्कालाई खासै धोखा नदिई नयाँ बाटो खन्न खोजेकै देखियो । यसरी अनपेक्षित मत पाएकाले त्यसको राप र तापले एमाले र माओवादीमा नयाँ नयाँ रहर जाग्न थालेको छ, जसको कारक तत्व भनेको मधेसवादी दलहरुको मत देखिएको छ । यहाँनेर मधेसवादीसँगको सहकार्यले एमालेलाई फाइदा देखिन्छ– माओवादीलाई घुर्क्याउन र एकतालाई पन्छाउन पनि ।

पाकेको आँपको हाँगा हल्लाएर आप झार्न सिपालु माओवादी अध्यक्ष प्रचण्डले भर्खरै आफू घेराबन्दीमा परेको थाहा पाएको हुनुपर्छ । माओवादीको साथ र सहयोग नपाए पनि एमालेको नेतृत्वमा सरकार बन्छ–बन्छ । एमालेभित्रै माओवादी गुट बनाउने प्रचण्ड र माओवादी भित्रै सत्ताको रापले रोटी सेक्ने केपी शर्मा ओलीहरुको तरबार बेचुवा र घिउ बेचुवा रणनीतिले आगामी नेपाली राजनीतिमा अस्थिरता झन् चरमचुलीमा पुग्ने अनुमान गर्न थालिएको छ । यसको आधार भनेको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको आकस्मिक नेपाल भ्रमण र त्यस भ्रमणको अन्तर्यप्रतिको रहस्यमय एमाले मौनता ।

सरकार बन्नुभन्दा पहिले वाम एकता कि सरकार बनेपछि ? पहाडको उकालो बाटो हिँड्दा खाजा खाने कुरामा विवाद हुन्थ्यो, खाजा डाँडावारि खाने कि डाँडापारि खाने ? अघाएकाहरु भन्थे— डाँडापारि खाउँ, भोकाएका र भारी बोक्नेहरु भन्थे— डाँडावारि नै खाउँ ।

अहिले वाम एकता खासगरी एमाले र माओवादी एकताको पनि त्यही समस्या देखिएको छ । एमाले भन्छ— सरकार मिलेर बनाउँ अनि सहजरुपमा बिस्तारै एकताका खाका तयार गरौँ । माओवादी भन्छ—हामीले त दलको सबै कुरा एकै ठाउँमा हुने भनेर पहिले एकता गरौँ, हाम्रो भाग निश्चित गरौँ अनि सरकार बनाआँै सहमतिअनुसार । एकातिर माओवादी नभए पनि एमालेले सरकार बनाउनका लागि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँगको सहकार्य खुला राखेको छ भने माओवादीले पनि एमालेलाई देखाउन कांग्रेस, राजपा र संजफोसँग मिल्नुपर्ने हुन्छ । हिजोको कुरा अर्कै थियो, आजको कुरा अर्कै देखिएको छ । सबैसँग विकल्प खुला र सहज छ । कांग्रेसले धेरै आशा र अपेक्षा गरेको छैन सरकारका बारेमा किनभने सशक्त विपक्षी एमालेभन्दा मतमा धेरैपछि नभए पनि सांसद संख्यामा धेरै पछि छ र तत्कालै त्यस्तो जोड घटाउमा लागेको पनि देखिँदैन । कांग्रेसको अवस्था भनेको जसरी पनि निर्वाचन सम्पन्न गरेर सरकार हस्तान्तरण गर्नु छ आगामी सरकारलाई ।

फेरि एमाले र माओवादीका कारणले मुलुकमा सत्ताको व्यापक विवाद सुरु हुन लागेको देखिन्छ । जनताको आकांक्षा भनेको अस्थिरताबाट मुलुक स्थिरतातर्फ पदार्पण गरोस् । तर हालैका राजनीतिकरुपमा विकसित घटनाले स्थायित्व र स्थिरताभन्दा झन झन तरलतातिर मुलुक जाकिँदैछ, भासिँदैछ । यसका कारकतत्वहरु खोज्दै जाँदा थुप्रै रहस्यहरु फेला पार्न सकिन्छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework